सुशासन र समृद्धिका लागि राजनीतिक निष्ठा र आचरणमा परिवर्तन आवश्यकः राष्ट्रपति पौडेल

संवाददाता
१५ जेष्ठ २०८३, शुक्रबार १४:०५

१५ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनको उच्चतम सदुपयोगमार्फत कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रलाई बलियो बनाउनुपर्ने बताउनु भयो । मुलुकमा बलियो जनादेशसहितको सरकार गठन भएको चर्चा गर्दै उहाँले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलतालाई मूल मार्गदर्शनका रूपमा अगाडि बढाएकोमा खुशी व्यक्त गर्नुभयो ।
शासकीय सुधारका १०० कार्यसूचीको पूर्ण कार्यान्वयन तथा सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानूनी एवं संरचनागत सुधारले जनतामा नयाँ आशा जागृत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने प्रष्ट पार्नुभयो ।
गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ सुदृढ तुल्याउन सबै राजनीतिक दल तथा सरोकारवालाहरूलाई उच्च राजनीतिक निष्ठा र आचरणसहित एकतावद्ध भएर लाग्न राष्ट्रपति पौडेलले आह्वान गर्नुभयो । उहाँले व्यवहारमा परिवर्तन नआएसम्म राजनीतिक परिवर्तनको औचित्य पुष्टि नहुने समेत जिकिर गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*