अपेक्षित ग्राहक नदेखिँदा व्यवसायीहरू चिन्तित
८ असोज, हेटौँडा । दशैँको चहलपहल सुरु भइसक्दा पनि मकवानपुरको हेटौँडा बजारमा भने अपेक्षित ग्राहक नदेखिँदा व्यवसायीहरू चिन्तित बनेका छन् ।
नेपालीहरूको सबैभन्दा ठुलो चाडको बेलामा समेत सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरू निराश देखिएका हुन् । दशैँको तेस्रो दिनसम्म आइपुग्दा पनि यहाँका लत्ता–कपडा, जुत्ता–चप्पल, रेडिमेड कपडादेखि विभिन्न उपभोग्य वस्तुका पसलहरूमा ग्राहकको उपस्थिती खासै देखिएको छैन । बजारमा चहलपहल देखिए पनि किनमेल गर्ने ग्राहकहरूको संख्या खासै नरहेको व्यवसायीले बताएका छन् । राप्तीरोड, स्कुल रोडलगायत हेटौँडाका प्रमुख व्यवसायीक क्षेत्रहरूमा यसपटक ग्राहकको उपस्थिती भने कम छ ।
मसला र दैनिक उपभोग्य वस्तुहरूको किनमेलमा केही चहलपहल देखिए पनि लत्ता–कपडा, जुत्ता, रेडिमेड वस्त्र, भाडाकुडा, इलेक्ट्रोनिक्स सामानलगायतमा ग्राहक न्यून देखिन्थे । कोभिड–१९ महामारीदेखि नै व्यापारमा मन्दी आएको व्यवसायीले बताएका छन् । यसका साथै, अनलाइन किनमेलको आकर्षण बढ्दै जानु, युवा जनशक्ति विदेशिने क्रम बढेको कारणले पनि तयारी पोशाकहरूको व्यापारमा अपेक्षित वृद्धि नभएको व्यवसायीहरूको अनुमान छ ।
प्रमुख चाडबाडको समयमा समेत व्यापारमा सुधार नआउनु चिन्ताको विषय रहेको व्यवसायीले बताएका छन् ।














