जुनियर खेलाडीहरूको ग्रेडिङ सम्पन्न

संवाददाता
३० चैत्र २०८२, सोमबार १७:४४

३० चैत्र, हेटौँडा । रचना तेक्वान्दो डोजाङअन्तर्गतका जुनियर खेलाडीहरूको ग्रेडिङ सफलतापूर्वक सम्पन्न भएको छ ।
सोमबार हेटौंडा–६ रामनगरस्थित बालजागृति युवावर्ष माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना गरिएको ग्रेडिङ कार्यक्रममा हेटौंडा–१६ सिफाली तेक्वान्दो डोजाङमा प्रशिक्षण लिइरहेका खेलाडी सहभागी भएका थिए । ग्रेडिङ सेतो पेटीदेखि रातो–ब्लू बेल्टसम्मका खेलाडीका लागि सञ्चालन गरिएको थियो । कार्यक्रममा १८ जना जुनियर खेलाडीले आफ्नो दक्षता र सीप प्रदर्शन गर्दै प्रमोशनका लागि प्रतिस्पर्धा गरेका थिए ।
ग्रेडिङमा उत्कृष्ट खेलाडीका रूपमा सान्दवी गिरी घोषित भइन् भने अनुशासित र नियमित उपस्थितिका आधारमा आसमान थापालाई पुरस्कृत गरिएको थियो । समाजसेवी कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष मानबहादुर वाइवा विशेष अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । प्रशिक्षक ईश्वर श्रेष्ठका अनुसार ग्रेडिङमा सहभागी खेलाडीहरूको नतिजा छिट्टै सार्वजनिक गरिनेछ ।
स्थान अभावका कारण डोजाङले विद्यालयको खुला मैदानमै प्रशिक्षण सञ्चालन गरिरहेको जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि दुलालले तेक्वान्दो खेलको विकासका लागि वडा तहबाटै सहयोग आवश्यक रहेको बताउनुभयो । साथै, जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा सहभागी ११ जना जुनियर खेलाडीलाई हौसला स्वरूप मायाको चिनो प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*