प्रादेशिक अस्पतालहरुमा डिजिटलाइजेशनको प्रक्रिया सुरुः मन्त्री थापा
२९ चैत्र, हेटौँडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले डिजिटल हेल्थ र पेपर लेसको अवधारणालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मार्फत सम्पन्न कार्यहरुबारे पत्रकारसंगको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा मन्त्री थापाले बिरामीको चापलाई मध्यनजर गर्दै प्रादेशिक अस्पतालहरुमा डिजिटलाइजेशनको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । १३ वटै प्रादेशिक अस्पतालहरुको ओपिडीमा दैनिक ६ हजार ५ सय देखि ७ हजार सम्म बिरामीहरु सेवा लिन आउने गरेको जानकारी दिँदै उहाँले डिजिटल हेल्थबाट बिरामीको चाप कम हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री थापाका अनुसार अस्पतालहरुमा पेपर लेसको अवधारणालाई आत्मसात् गर्दै सबै प्रादेशिक अस्पतालहरुमा इलेक्ट्रो मेडिकल रेकडिङ प्रणाली लागु गर्न आवश्यक पूर्वाधारको तयारी गरिएको छ । सिन्धुली, सिन्धुपाल्चोक र धादिङ अस्पतालमा सो प्रणाली कार्यान्वयनमा गइसकेको समेत उहाँले जानकारी दिनुभयो ।
मन्त्री थापाले आगामी वर्ष मकवानपुर र रामेछापमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरंग सेवा सञ्चालन गरिने बताउनुभयो । औषधी उत्पादन केन्द्रबाट २१ प्रकारको औषधी उत्पादन सुरु भइसकेको समेत उहाँले उल्लेख गर्नुभयो । मन्त्री थापाले जनशक्ति र भौतिक संरचनाको अभावमा अहिले धेरै आधारभुत अस्पतालहरुले सेवा दिन नसकेको बताउनुभयो ।
आधारभुत अस्पतालहरुमा जनशक्ति परिपूर्ति गर्न मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा, भक्तपुर अस्पताल, सिन्धुली अस्पताल र त्रिशुली अस्पतालमा टेलि मेडिसिन हब बनाइ सकेको उहाँले उल्लेख गर्नुभयो ।
मन्त्री थापाले प्रादेशिक योग समिति मार्फत योग, ध्यान, प्रणायामका कार्यक्रमलाई संस्थागत गरिने बताउनुभयो । कार्यक्रममा मन्त्रालयकी सचिव सुमित्रा गौतमले मन्त्रालय र प्रतिष्ठानको गतिविधि बारे प्रस्तुतीकरण राख्नुभएको थियो ।














