बागमती प्रदेशमा रेबिजविरुद्धको खोपको अभाव

चालु आर्थिक वर्षमा १५ हजार भाइल ‘एन्टिरेबिज भ्याक्सिन’ प्राप्त
संवाददाता
२३ चैत्र २०८२, सोमबार १४:३८

२३ चैत्र, हेटौँडा । बागमती प्रदेशमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ ।
हेटौँडास्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोपको मौज्दात सकिएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालसहित प्रदेशका १३ जिल्लाका प्रादेशिक अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोप उपलब्ध हुन सकेको छैन । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, खोप शाखाका इश्वर महराका अनुसार विगत दुई–तीन महिनादेखि नै खोपको अभाव रहेको छ । सबैतिरबाट माग आउँने तर स्टक नहुँदा उपलब्ध गराउन नसकिएको उहाँले बताउनुभयो । संघीय स्वास्थ्य मन्त्रालयबाट बागमती प्रदेशका लागि चालु आर्थिक वर्षमा १५ हजार भाइल ‘एन्टिरेबिज भ्याक्सिन’ प्राप्त भएको थियो ।
गत वर्षको मौज्दात ४–५ सय भाइलसमेत जोडेर माघ महिनासम्म केही वितरण गरिए पनि त्यसपछि भने आपूर्ति ठप्प भएको केन्द्रले जनाएको छ । प्रदेशका लागि मासिक करिब १० हजार भाइल खोप आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति हुन नसकेको आपूर्ति केन्द्रले जनाएको छ । खोपको खरिद प्रक्रिया संघीय सरकारले मात्रै गर्ने भएकाले प्रदेशले माग गर्दै आए पनि आपूर्ति नहुँदा समस्या भएको हो । सरकारी स्वास्थ्य संस्थामा खोप उपलब्ध नहुँदा बिरामीहरू निजी क्लिनिक तथा अस्पतालबाट महँगो शुल्क तिरेर खोप लगाउन बाध्य भएका छन् ।
आपूर्तीबाट प्राप्त खोप सकिएपछि हेटौँडा अस्पतालले आफैले यसअघि करिब १० लाख रुपैयाँ बराबरको खोप खरिद गरेको थियो भने अहिले पनि १० लाख रुपैयाँ बराबरको २ सय भाइल खोप खरीद प्रक्रिया सुरु गरिएको अस्पतालका प्रवक्ता उत्सव चौलागाईले बताउनुभयो । खोप आउन केही दिन लाग्ने बताइएको छ । कुकुर तथा अन्य जनावरले टोकेपछि लगाइने रेबिजविरुद्धको खोप धेरै माग हुने भएकाले स्टक छिट्टै सकिने गरेको छ ।
पूर्ण खोपका लागि तीनदेखि पाँच पटकसम्म खोप लगाउनुपर्ने हुन्छ । निजीमा एक पटक खोप लगाउन करिब ६ सय ७५ रुपैयाँसम्म लाग्ने गरेको छ । खोपको अभावका कारण निःशुल्क सेवा प्रभावित हुँदा बिरामीहरू आर्थिक भार व्यहोर्न बाध्य भएका छन् । रेबिज घातक रोग भएकाले समयमै खोप नलगाइए ज्यानै जाने जोखिम रहने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*