मकवानपुरका अधिकांश निजी स्वास्थ्य संस्था मापदण्ड विपरीत सञ्चालन

संवाददाता
२४ चैत्र २०८२, मंगलवार १९:४८

२४ चैत्र, हेटौँडा । मकवानपुरमा सञ्चालनमा रहेका अधिकांश निजी स्वास्थ्य संस्था मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ ।
जिल्लाका विभिन्न अस्पताल, पोलिक्लिनिक र फार्मेसीको अनुगमन गर्दा मापदण्ड विपरित सञ्चालनमा रहेको पाईएको हो । जिल्लामा सञ्चालीत सन्चो अस्पताल नविकरण नै नभई सञ्चालन भईरहेको छ । नविकरणको प्रकृया अघि बढाएपनि अस्पताल नबीकरण भएको छैन । इमर्जेन्सीमा आवश्यक पर्ने एकसय ४५ प्रकारका औषधि हुनुपर्नेमा १०–१२ मात्रै उपलब्ध रहेको पाइएको छ । अस्पतालमा १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने शैया समेत राखीएको छैन । यहाँ सामाजिक सेवा इकाइ समेत राखीएको छैन । अति विपन्न तथा बेवारिसे बिरामीका लागि निःशुल्क सेवा दिनुपर्ने कानूनी ब्यवस्थालाई पूर्णतया वेवास्ता गरिएको छ ।
यस्तै म्याद नाघेका औषधि छुट्याएर व्यवस्थापन नगरेको पाईएको छ । २५ शैयाको अनुमति पाएको मकवानपुर सहकारी अस्पतालले अनुमति भन्दा बढी शैया सञ्चालन गरेको भेटिएको हो । अनुगमनका क्रममा अस्पतालले १० प्रतिशत निःशुल्क शैयाको व्यवस्था नगरेको, सामान्य वार्डमा पुरुष–महिला छुट्याएर सेवा नदिएको तथा पर्याप्त जनशक्तिको अभाव रहेको अनुगमनमा देखिएको छ । यस्तै अस्पतालले तोकिएको भन्दा कम पारिश्रमिकमा कर्मचारी राखिएको अस्पताल परिसरमा अन्य व्यक्तिले फार्मेसी सञ्चालन गरिएको समेत पाइएको थियो । अस्पतालले आवश्यक मापदण्ड पूरा नगरेको भन्दै पहिलो चरणमा सचेत गराइएको छ । मकवानपुर पोलिक्लिनिकमा अनुमति लिँदा दिने भनिएका सेवा उपलब्ध नगराइएको, नागरिक बडापत्र नराखिएको देखिएको छ । यस्तै सिटी अस्पतालले फार्मेसिस्ट विना फार्मेसी सञ्चालन गरिएको भन्दै बन्दगर्न निर्देशन दिईएको छ ।
मकवानपुरमा सञ्चालित अस्पतालहरुलाई एक हप्ताभित्र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ । यस्तै, रामजानकी मेडिकल हलले एलोपेथिक औषधि मात्र बिक्री गर्न अनुमति भए पनि आयुर्वेदिक औषधि समेत बिक्री गरेको पाइएको छ । आयूर्वेदीक औषधि र कस्मेटिकजन्य वस्तुहरु फार्मेशीबाट हटाउन लगाइएको छ । अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक किरण श्रेष्ठ, औषधि व्यवस्था विभागका रबि चौधरी थारु, जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सूर्यप्रसाद तिवारी, जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत आशा बहादुर लामा लगायतका कर्मचारी सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*