मकवानपुर जिल्ला सहकारी संघको साधारणसभा सम्पन्न
२३ असोज, हेटौँडा । मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको २२ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ ।
संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रम विगतका वर्षहरूको भन्दा फरक शैलीमा, प्रमुख अतिथि विना सञ्चालन गरिएको थियो । सभामा संघका अध्यक्ष देवकोटाले संघको वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक खेमराज सापकोटाले लेखा प्रतिवेदन र कोषाध्यक्ष विमल ढकालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्ला बचत तथा त्रृmण सहकारीकी अध्यक्ष कल्पना श्रेष्ठले सहकारीको वर्तमान अवस्थाको बारेमा धारणा राख्नुभयो । संघमा हाल १ सय ८७ सक्रिय शेयर सदस्य रहेका छन् । १९ लाख १६ हजार रुपैयाँ शेयर पुँजी रहेको संघले गत आर्थिक वर्षमो अनुमानित भन्दा बढी आम्दानी गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१–८२ मा संघले ३ करोड ५१ लाख १५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
जुन अनुमानित भन्दा १ करोड ४२ लाख रुपैयाँ बढी हो । चालू आर्थिक वर्षमा संघले २६ करोड ७२ लाख रुपैयाँ आम्दानी गर्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा संघको कुल व्यय ३ करोड ५१ लाख रुपैयाँ रहेको थियो । साधारण सभामा प्रदेश सहकारी संघ लिमिटेडका उपाध्यक्ष एवम् जिल्ला बहुउद्देश्यीय सहकारी मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, प्रदेश कृषि सहकारी संघ लिमिटेडका उपाध्यक्ष एवम् सहकारी संघ लिमिटेडका सञ्चालक विमला कार्की, जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडका अध्यक्ष हरि प्रसाद कडेल लगायतको आतिथ्यता थियो ।














