विपद् स्वयंसेवक आधारभुत तालिम सुरु
७ जेठ, हेटौँडा । मकवानपुरमा विपद् व्यवस्थापनसम्बन्धी समुदायस्तरको जनशक्ति तयार गर्ने उद्देश्यले समुदाय विपद् स्वयंसेवक आधारभूत तालिम सुरु गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भएको १८ दिने तालिम बिहीबार एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो । हेटौंडा–८ स्थित सशस्त्र प्रहरी गण परिसरमा आयोजित उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा हेटौंडा उपमहानगरपालिकाका २५ जना युवाको सहभागिता रहेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निवन कुमार खड्काले प्राकृतिक तथा मानव सिर्जित विपद्को समयमा समुदायस्तरमै उद्धार र राहत कार्यमा सक्षम जनशक्ति तयार गर्न तालिम आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा भूकम्प, बाढी, पहिरो, आगलागीलगायत विपद्का समयमा अपनाउनुपर्ने सुरक्षा विधि, उद्धार कार्य, प्राथमिक उपचार, सञ्चार तथा सम्न्वय, राहत व्यवस्थापन तथा विपद्पछिको पुनःस्थापनासम्बन्धी व्यवहारिक र सैद्धान्तिक प्रशिक्षण प्रदान गरिनेछ । उहाँले विपद् व्यवस्थापनका तीनै चरण पूर्वतयारी, प्रतिकार्य तथा पुनर्लाभसँग सम्बन्धित गतिविधिलाई प्रभावकारी बनाउन सामूहिक अभ्याससहितको तालिम सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले मकवानपुर जिल्ला भौगोलिक रूपमा विपद्को उच्च जोखिममा रहे पनि नागरिकमा पर्याप्त सचेतना अभाव रहेको बताउनुभयो । प्राकृतिक विपद्लाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि पूर्वतयारी, जनचेतना र शीघ्र उद्धारमार्फत क्षति कम गर्न सकिने उहाँले उल्लेख गर्नुभयो । समुदायलाई विपद् व्यवस्थापनमा सक्षम बनाउने उद्देश्यले यस्ता तालिम प्रभावकारी हुने उहाँको भनाइ थियो । समुदाय आफैं सचेत र सक्षम भए विपद्का समयमा हुने मानवीय तथा भौतिक क्षति न्यून गर्न सकिने उहाँले बताउनुभयो ।
त्यसैगरी नगर प्रमुख लामाले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न सहभागी युवालाई आग्रह गर्नुभयो । उहाँले विपद्का समयमा स्वयंसेवक परिचालनलाई थप प्रभावकारी बनाउन तथा स्वयंसेवकको मनोबल उच्च राख्न हेटौंडा उपमहानगरपालिकाले निश्चित पारिश्रमिक उपलब्ध गराउने विषयमा कार्यविधि बनाएर अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरीका प्रतिनिधि, पत्रकार महासंघ मकवानपुर अध्यक्ष, ८ नम्बर वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरसँग रहेका विपद् उद्धार तथा खोज सामग्रीको प्रदर्शनी समेत गरिएको थियो ।














