श्रदेय शेरबहादुर देउवा ज्यु,……………

देवकी गौतम, चितवन
२ आश्विन २०८२, बिहीबार ११:१९

श्रदेय शेरबहादुर देउवा ज्यु,
सभापति नेपाली कांग्रेस ।
सर्वप्रथम यहीं भाद्र २३ र २४ गतेको न्भल श् को आन्दोलनको क्रममा नेपालभित्र ७२ जनाभन्दा बढीको दुखद निधन भएको छ । सम्पूर्ण मृतक हरुको आत्माको चिर शान्तिको कामना सहित अश्रुपुर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

नेपाली कांग्रेसका श्रदेय सभापति शेरबहादुर देउवा ज्यु, पुर्व परराष्ट्रमन्त्री आरजु राणाज्यु, देशैभरीका जन प्रतिनिधि साथिहरु, आन्दोलनरत जेनजी का युवा साथिहरु, नेपाल प्रहरी, नेपाली कांग्रेस एबम बिभिन्न राजनितिक दलका नेता –कार्यकर्ता साथीहरु सहित करिब १,३०० को हाराहारिमा घाइते हुनु भएको छ ।

तपाईंहरू सम्पूर्णमा सिघ्र स्वास्थ लाभको कामना गर्दछु ।
श्रदेय सभापतिज्यु,
सर्वप्रथम, तपाईंले लामो समयदेखि नेपाली कांग्रेस पार्टीको जिम्मेवारी बहन गर्दै आउनुभएको छ । यसबीचमा थुप्रै कठिन परिस्थितिहरू सामना गर्नुभयो, लोकतन्त्रलाई जोगाउन अनेक बलिदान गर्नुभयो । पटक पटक नेपाललाई र नेपाली कांग्रेसलाई ठुलो संकटबाट पार लगाउनुभयो । तपाईंले आफ्नो जीवनको लामो समय लोकतन्त्र, संविधान, गणतन्त्र र राष्ट्रिय हितका लागि समर्पित गर्नुभयो । देशमा प्रजातान्त्रिक मूल्य–मान्यताको रक्षा र संस्थागत विकासका लागि तपाईंको भूमिका अतुलनीय छ, जुन इतिहासमा सधैँ स्वर्ण अक्षरले लेखिनेछ। हामी तपाईंको दीर्घ राजनीतिक जीवन र नेपाली कांग्रेस पार्टीप्रतिको योगदानप्रति गहिरो सम्मान प्रकट गर्दछौँ ।
त्यही नेपाली कांग्रेस पार्टीको कार्यकर्ता हामी जीवन र जगतका अन्य मोह लाई पछाडी छोड्दै लामो समय देखी यही पार्टीको नीति विधि र सिद्धान्त भित्र रहेर समाजमा आफुले सकेको योगदान गरेर समाजमा शिर ठाडो पारेर हिँड्ने एउटा कार्यकर्ता हौं ।
जसले समाजमा लाखौ मूल्य पर्ने व्यक्तिगत जग्गा निशुल्क दान गरेर खानेपानी बनाएका छौ ।जुन आज हजारौं मानिसको शुद्ध पानी पिउने मूख्य स्रोत बनेको छ । समुदायको विद्यालय , मठ मन्दिर , चौतारो , बाटो घाटो निर्माणमा यथासक्य सहयोग गरेका छौ । कोही बिरामी भए अस्पतालमा रगत दिने देखी छर्छिमेकको दुःखमा आर्यघाटमा आवश्यकता अनुसारको ब्यबस्थापनमा पनि साथिहरु मिलेर सकेको सहयोगी बनेकै छौ । विद्यालयमा छात्रवृत्ति एबम अक्षयकोष देखी समाजमा हिंसा पीडित महिला बालबालिकाको लागी हिम्मत प्रदान गर्र्दै सकेको ढाडस दिएकै छौ ।
मैले बिर्सेको छैन – बिपी ,गणेशमान ,किसुनजी सँगै तपाईं हिजो राणा संग लड्नु भो । हामिलाई रैती बाट नेपाली नागरिक बनाउनु भो । तर पञ्चायत देखिको लडाइँमा हामिले र हाम्रो पुस्ताले पनि हातेमालो गर्यो । दश वर्षे माओबादी जन युद्धमा हाम्रा कन्चटमा बन्दुक तानेको पनि भोगेकै हो। कांग्रेस भएको कारणले महिनौं दिन सम्म परिवारका सदस्यले अपहरणमा पर्नु परेको हो। हामीले गरेकोे ब्यबसायमा माओबादीले बम हानेर क्षती पुर्याएर जीवन नै सत्य हो भनेर रातारात सब ब्यापार ब्यबसाय छोडेर बसेको पनि हो। हिजो पुर्व प्रधानमन्त्री केपी ओली जिले संसद विघटन गर्दा पनि हामी उत्तिकै उर्जाशिल भएर सडकमा गलत कुराको विरोध गरेकोे पनि हो । त्यस पछी पनि नयाँ नयाँ पार्टीको साईबर आक्रमणको धार लाई पनि काट्ने हिम्मत गरेकै हो । यी सारा का सारा समस्या ,यातना हरुले हामिलाई छिस्स पनि पीडा भएन……!! हाम्रो स्वाभिमान , हाम्रो आत्म सम्मान ,हाम्रो उच्च ईच्छा शक्ति र हाम्रो धैर्यता कत्ति पनि डगमगाएन ….!!!!
भाद्र २४ गतेको प्रर्दशनको क्रममा देशको सिँहदरबार , न्यायालय , उधोग धन्दा , प्रहरी बिट ,मालपोत, स्थानिय पालिका अनि वडा कार्यालय समेत जल्यो । त्यति मात्र हैन क्षण भरमा देशै भरी जनताको सेवामा अहोरात्र खटिने जनप्रतिनिधिका मेहनतले बनाएका उनका बाआमा छोराछोरी सहितका घर जले । तपाई लगायत महामन्त्री गगनकुमार थापाज्युको घर , प्रदेश सभापति इन्द्र बहादुर बानिज्युको घर ,लौह पुरुष गणेशमानज्युको घर ,किसुनजि जसले जीवन भर व्यक्तिगत सम्पत्ति को नाममा छाता र लौरो र सुराही लिएर लिएर राजनितिक यात्रा गर्नु भयो उहाँको घर मात्र हैन बिराटनगरको कोइराला निवास जहाँ बाट नेपाली जनताले रैती बाट नागरिकको अधिकार पाए नेपाली काङ्रेसका थुप्रै नेता कार्यकर्ता हरुको निवास जल्यो या खोजी खोजी जलाईयो। जनताको छोराछोरी लाई निर्मम तरिकाले कन्चट मै गोली प्रहार गरी गरिएको हत्याको र घुसपैठका नाममा अराजक समुहले व्यक्तिगत एबम सार्वजनिक सम्पत्ति माथी गरिएको तोडफोड र आगजनिको यी र यस्तो अराजक घटनाबारे निस्पक्ष छानबिन होला….!!!
श्रदेय सभापतिज्यु,
तपाई भाडाको घरमा बस्नु भएको बेलामा पाटी भित्र आफ्नो धारणा राख्ने क्रममा चितवन कै एकजना प्रभावशाली केन्द्रीय सदस्यज्यु संग हजुरको निवास गएको भन्दा अलावा हजुरको निवासमा नपुग्ने कार्यकर्ताको लिस्ट मै मेरो नाम छ ….! म जीवनभर तपाइँको घरमा गएको छैन …!!! औपचारिक कार्यक्रम भन्दा अन्त हाम्रो भेट विरलै भएको होला । त्यसैले हजुरको राजनितिक बाहेकको ब्यतिगत आनिबानिको बारेमा म खासै परिचित छैन भन्दा फरक नपर्ला ।
म त्यो दिन लाई सम्झेर आज पनि उत्तिकै गर्व गर्छु , जुन दिन अहोरात्र खट्रेर नेपाली कांग्रेसका नेता श्रदेय शुशिल कोइरालाज्युलाई चितवन बाट निर्वाचित गराएर पठाउँदै थियौं। त्यहीं संविधानमै टेकेर नागरिकले धेरै अवसर हरु पाए। त्यहीं संविधान अनुसार ५ औ पटक प्रधानमन्त्री बनी सक्नु भएका मेरा श्रदेय सभापति ज्यु माथी मैले एउटा कार्यकर्ताको हैसियतले गर्व गर्न किन नपाउने सभापति ज्यु ….???
त्यसैले, मन भारी गर्र्दै बढो अफसोचका साथ निरन्तर सङ्गठनमा लागी पर्ने एउटा कार्यकर्ताको हैसियत बाट आज तपाई लाई प्रश्न गर्दै छु सभापति ज्यु ….!!!
मेरो देश जलिरहेको उक्त आगजनिको घटनापछि तपाई लगायत देशको सर्बोच्च पदमा पुगेका केही नेताहरू र अन्य पार्टीका पुर्व प्रधानमन्त्री ज्युका निबास तिर छरपस्ट जलेका नोट हरु र २–४ वटै कोठा भित्रै रकमको डोको भेटिएका समाचार हरु रेडियो टेलिभिजनमा बजी रहेको सुनियो ….. ! अनि चोक चौतारा चिया पसल हरुमा देश जलेका र खरानी भएका समाचार हरु भन्दा हाम्रा नेताहरूका घरका नोट जलेका र खरानी भएका समाचारहरु धेरै चासोको साथ बज्दा , अनि यिनै समाचार ले फेसबुक का भित्ता हरुमा रंगीन बनिरहदा देशकै जेठो पार्टी नेपाली कांग्रेसका हामी र हामी जस्ता लाखौ लाख कार्यकर्ताको शिर लज्जाले झुकेको छ सभापति ज्यु ….!!!!!
तपाइँ लगायत जजसको घरमा जलेका नोट हरु थिए तिनको वैधानिकता प्रमाणीकरण गर्न या ति भिडियो को बारेमा सत्य तथ्य बाहिर ल्याउनुपर्छ भन्ने सबिनय अनुरोध गर्दछु …..!!! समाचार भ्रम पुर्ण हुन् भने तिनको आधिकारिकता जाँचको लागी सरकार संग र न्यायालय संग कानूनी रुपमा माग गरियोस् । हैन भने जनताको भकारिमा धानको गोदाम भेट्न गार्हो परेको यो बेलामा तपाईंहरूका घरमा पैसाको गोदाम को बिस्कुन एउटा जागरुक कार्यकर्ता लाई हेर्न र सुन्न अत्यन्तै गार्हो भएको छ । गाउँ टोल छिमेकीमा हामिलाई जवाफ दिन गार्हो भएको छ सभापति ज्यु …!!! तपाईंहरू लाई पैसाको भारी किन चाहियो ?? यदी पैसा लिएर कोही कार्यकर्ता तपाई का पछी लाग्छ भने बुझ्नोस ति तपाई का असली कार्यकर्ता हैनन । यदी पैसा लिएर तपाई लाई भोट हाल्छ्न भने पनि नबिर्सनोस ति पनि तपाई का असली अनुयायी होइनन्….!!! हामी लाई कुनै स्वार्थ लुट्नु छैन , हामी पार्टी छोडेर जादैनौ तर ,अब तपाईंहरूका गलत क्रियाकलापका बिरुद्धमा हरेक स्थान बाट खुलेर खवर्दारी गर्नेछौ । यो लोकतान्त्रीक पार्टी हो।
बिपी कोइराला देखी गणेशमान ,किसुनजी , गिरिजाप्रसाद , शुशिल कोइराला हुँदै यहाँसम्म आईपुग्दा हामिले हाम्रो नेताहरूको नाम श्रदा पुर्वक लिने गरेका छौ । बिचार जस्तै हाम्रो नेता को चरित्र पनि उत्तिकै पबित्र छ भनेर भन्ने गर्दछौ ….!!! हामी चाहन्छौ , राजनितिक जीवन को उत्तरार्धमा आईपुग्दा हजुरको नाम पनि यिनै माथी का नेताहरू सँगै राखेर श्रध्दा पुर्वक लिन पाईयोस ….. हाम्रो ईतिहास गर्बिलो छ । वर्तमान कलंकीत न बनोस्।
हामीले यो सुझाव देश प्रतिको तपाईंको योगदान को गहिरो सम्मान गर्र्दै लेख्ने हिम्मत गरेका हौं । कलम मेरो चोपियो होला तर यो लाखौ कार्यकर्ताको मनमा उठेर मस्तिष्कमा खल्बल्ली रहेको प्रश्न हो।
हामी विश्वास गर्छौँ, तपाईंले यो कुरालाई सकारात्मक दृष्टिले लिनुहुनेछ र अन्त्यमा, हामी नेपाली कांग्रेसका कार्यकर्ता तथा समर्थकहरू आगामी दिनमा पनि तपाईंको अनुभव, दृष्टि र आशीर्वाद सधैँ नयाँ पुस्ताका लागि मार्गदर्शक बन्नेछ भन्ने विश्वास गर्दछौँ।
सिघ्र स्वास्थ लाभको कामना सहित उही तपाईको शुभचिन्तक …!!!!!!!
जयनेपाल जयनेपाल जय नेपाल !!!!!!!!

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*