थाहा गोल्डकपको उपाधि कुर्दन फुटबल एकेडेमी चन्द्रागिरीलाई
६ असार, हेटौँडा । थाहा नगरपालिकामा सम्पन्न छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुर्दन फुटबल एकेडेमी चन्द्रागिरीले जितेको छ ।
शनिबार थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौरमा सम्पन्न फाइनल खेलमा चित्लाङ एफसीलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै कुर्दन फुटबल एकेडेमी चन्द्रागिरीले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीबाट एक–एक गोल भएपछि खेल बराबरीमा सकिएको थियो । चित्लाङ एफसीका लागि विश्व हायुले गोल गरे भने कुर्दनका तर्फबाट सुजित बुढाथोकीले बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो ।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका कुर्दनका गोलरक्षक सन्तोष महत ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसँगै विजेता कुर्दन फुटबल एकेडेमी चन्द्रागिरीले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता चित्लाङ एफसीले नगद १ लाख रुपैयाँ, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।
त्यसैगरी विधागत तर्फ चित्लाङ एफसीका सन्तोष गोम्बा सर्वाधिक गोलकर्ता घोषित भए । कुर्दनका कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने भने चित्लाङ एफसीका अभिषेक खड्का उत्कृष्ट गोलरक्षक घोषित भए । त्यसैगरी चित्लाङ एफसीका शुभराज गोले प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट खेलाडीले १२ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे भने विधागत तर्फ उत्कृष्ट हुनेहरुले जनही ६ हजार २ सय ५० रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।
प्रतियोगिताको पुरस्कार वितरण समारोह खेलकुद विकास समिति संयोजक टिकाराम स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल, आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्याल लगायतको उपस्थिति रहेको थियो । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा फुटबल प्रतियोगिता भएको हो ।














