हेटौँडा उपमहानगरपालिकाको बजेट २ अर्ब ८५ करोड

चालु आर्थिक वर्षको तुलनामा ५ करोडले घट्यो
संवाददाता
९ असार २०८३, मंगलवार १३:२४

९ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
मंगलबार बसेको उपमहानगरपालिकाको १९ औँ नगरसभामा उपप्रमुख राजेश बानियाँले बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षको बजेट आकार ५ करोड रुपैयाँले घटाइएको जानकारी दिनुभयो ।
उपमहानगरले आगामी वर्षका लागि नेपालको संविधान, सोह्रौँ योजना, दिगो विकास लक्ष्य, चालु आर्थिक वर्षको समीक्षा तथा ‘समृद्ध हेटौँडा’ र ‘महिलामैत्री हेटौँडा’ बहसबाट प्राप्त सुझावलाई आधार बनाएर बजेट तर्जुमा गरिएको जनाएको छ । बजेटले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सुशासन तथा आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ ।
प्रस्तुत बजेटअनुसार उपमहानगरले आन्तरिक स्रोतबाट ५७ करोड ३६ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यस्तै राजस्व बाँडफाँटबाट ९९ करोड २० लाख ४८ हजार, प्रदेश सरकारबाट १० करोड १ लाख ७२ हजार तथा संघीय सरकारबाट १ अर्ब १८ करोड ४६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
पूर्वाधार विकासतर्फ ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरिएको छ भने वडा तहका योजना तथा कार्यक्रमका लागि मात्रै ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ । सडक सुरक्षा प्रवद्र्धन कार्यक्रम तथा ‘उज्यालो शहर’ सडकबत्ती व्यवस्थापनका लागि ९५ लाख रुपैयाँ र विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडानका लागि ५३ लाख रुपैयाँ विनियोजन गरिएको छ। ठूला आयोजनाको सम्भाव्यता अध्ययन, डिजाइन, अनुसन्धान तथा परियोजना बैंक निर्माणका लागि ५० लाख रुपैयाँ व्यवस्था गरिएको छ ।
स्वच्छ खानेपानी व्यवस्थापनका लागि हेटौँडा खानेपानी व्यवस्थापन बोर्डसँगको साझेदारीमा १ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ । आकस्मिक पूर्वाधार मर्मतका लागि २ करोड, एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि ४ करोड ६० लाख तथा सहरी तथा पूर्वाधार विकास कार्यक्रमका लागि २६ करोड ४९ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
शिक्षा क्षेत्रमा नगर शिक्षा नीति तथा योजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिइएको छ। स्वास्थ्य तथा सामाजिक सुरक्षातर्फ अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा पुरुष, पोषण कोशेली घर, पाठेघरको मुखको क्यान्सर तथा डायलाइसिस सेवा सञ्चालनका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । हटिया र पदमपोखरीमा सञ्चालित पालिका स्तरीय अस्पतालको सेवा विस्तार तथा पूर्वाधार विकासका लागि समेत आवश्यक बजेट व्यवस्था गरिएको जनाइएको छ ।
आर्थिक विकासतर्फ कृषि क्षेत्र सुधारका कार्यक्रमका लागि ४ करोड १६ लाख, पशु विकासका लागि ३ करोड २४ लाख तथा उद्योग र सहकारी क्षेत्रका लागि १ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ। खेलकुद विकास अन्तर्गत मेयर कप, उपमेयर कप तथा अन्य प्रतियोगिता सञ्चालनका लागि १ करोड ४० लाख रुपैयाँ छुट्याइएको छ ।

नगर सरसफाइ तथा फोहोरमैला व्यवस्थापनका लागि १ करोड रुपैयाँ, दमकल सञ्चालन तथा अग्नि नियन्त्रण व्यवस्थापनका लागि २ करोड १० लाख रुपैयाँ र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४५ करोड रुपैयाँ र संस्थागत क्षमता विकास, सुशासन प्रवद्र्धन तथा सूचना प्रविधिको प्रयोग विस्तारका लागि २ करोड ६५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उपप्रमुख बानियाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*