बैंकिङ तथा वित्तीय क्षेत्रमा बढ्दो साइबर अपराध सम्बन्धी छलफल

संवाददाता
९ असार २०८३, मंगलवार १८:५३

९ असार, हेटौँडा । बैंकिङ तथा वित्तीय क्षेत्रमा बढ्दो साइबर अपराध, अनलाइन ठगी तथा डिजिटल सुरक्षाका चुनौती बारे सरोकारवाला निकायबीच हेटौंडामा छलफल गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाले सामना गरिरहेका चुनौती, साइबर सुरक्षा, प्रहरी–बैंक समन्वय, ऋण प्रवाहमा देखिएका समस्या, बिचौलियाको प्रभाव, नक्कली केवाईसी , लोटरीको प्रलोभनमा पारेर गरिने ठगी, ग्राहकको खातामा अनधिकृत पहुँच, क्यूआर पेमेन्ट फ्रड, एटीएम स्किमिङ, मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएस सम्बन्धी सुरक्षा जोखिम लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारलिे बैंक तथा वित्तीय संस्था केवल कारोबार गर्ने निकाय मात्र नभई विपद् तथा आपत्कालीन अवस्थासमेत व्यवस्थापन गर्न सक्ने गरी सधैं तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । सुरक्षित बैंकिङ प्रणालीमार्फत मात्र ग्राहकको विश्वास कायम राख्न सकिने र वित्तीय क्षेत्रलाई थप विश्वसनीय बनाउन सकिने उहाँको भनाइ थियो । कार्यक्रममा मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीले बैंकिङ तथा साइबर अपराधको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो । डिजिटल सेवाको विस्तारसँगै साइबर अपराधका घटना पनि बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार मकवानपुरमा बैंकिङ स्क्याम तथा अनलाइन ठगीका उजुरी उल्लेख्य रूपमा आउने गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा अनलाइन ठगीसम्बन्धी ९४ वटा उजुरी दर्ता भएका थिए । आर्थिक वर्ष २०८१÷८२ मा यो संख्या बढेर २२३ पुगेको थियो, जसमध्ये २७ वटा मात्र फछ्र्योट भएका छन् ।
चालु आर्थिक वर्षमा हालसम्म ३२२ वटा उजुरी दर्ता भएकोमा ३२ वटा मात्र समाधान गर्न सकिएको उहाँले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बैंकिङ ठगीको शिकार बनेका व्यक्तिले आफूहरू कसरी ठगिएको अनुभव समेत सुनाउनुभएको थियो । अपरिचित व्यक्तिले अनलाइन भुक्तानी आएको जानकारी दिने स्पिीकर जडान गरिदिने भन्दै सम्पर्कमा आएको व्यक्तिको विश्वासमा पर्दा आफ्नो बैक खाता सम्बन्धी जानकारी दुरुपयोग भई आर्थिक क्षति बेहोर्नुपरेको अनुभव सुनाएका थिए ।
नेपाल बैंकर्स संघ तथा बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले बैंकहरूले अहिले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौती नै बैंकिङ स्क्याम र साइबर ठगी भएको बताएका छन् । कार्यक्रममा बैक तथा वित्तिय संस्थाले ग्राहक सचेतना बढाउनुपर्ने, साइबर सुरक्षा प्रणाली थप मजबुत बनाउनुपर्ने, ग्राहक स्वयं सचेत रहनुपर्नेमा जोड दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*