हेटौंडा तीन दिन ड्रागन महोत्सव हुँदै

महोत्सव सँगै प्रादेशिक कृषि थोक बजार पनि सञ्चालनमा ल्याइने
संवाददाता
९ असार २०८३, मंगलवार १८:५१

९ असार, हेटौँडा । नेपालमै पहिलो पटक ड्रागन फ्रुट महोत्सव आयोजना हुने भएको छ ।
प्रादेशिक कृषि थोक बजार सञ्चालन समिति, ड्रागन फ्रुट महोत्सव उपसमितिको आयोजनामा असार ११, १२ र १३ गते हेटौंडास्थित प्रादेशिक कृषि थोक बजार परिसरमा तीनदिने महोत्सव आयोजना गर्न लागिएको हो । “उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय उत्पादन” भन्ने मूल नारासहित आयोजना हुने महोत्सवलाई बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन् । महोत्सव सँगै प्रादेशिक कृषि थोक बजारलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइने जनाइएको छ । महोत्सवको मुख्य उद्देश्य ड्रागन फल उत्पादक किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै उत्पादनको बजारीकरणमा सहयोग पु¥याउनु रहेको आयोजकले मंगलबार आयेजित पत्रकार सम्मेलनमा जनाएका छन् । पछिल्ला वर्षहरूमा मकवानपुरमा ड्रागन फल उत्पादन उल्लेखनीय रूपमा वृद्धि भए पनि बजार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले महोत्सवमार्फत त्यसको समाधान खोज्ने प्रयास गरिएको महोत्सव आयोजक समितिका संयोजक सूरज थिङले बताउनुभयो ।
मकवानपुरको मनहरी, बकैया र बागमती गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा ड्रागन फल खेती विस्तार हुँदै गएको छ । हाल जिल्लामा करिब ४० देखि ५० जना किसानले व्यावसायिक रूपमा ड्रागन फल उत्पादन गरिरहेका छन् । महोत्सवमा रातो, सेतो र पहेँलो प्रजातिका ड्रागनको प्रदर्शनी तथा सहुलियत मूल्यमा बिक्रीका लागि करिब ३० वटा स्टल रहनेछन् । ताजा ड्रागन फलका साथै ड्रागन फलबाट उत्पादन गरिएका जुस, जाम, सलाद, आइसक्रिम, चिया तथा फूलबाट तयार गरिने ग्रीन टीलगायतका परिकार पनि प्रदर्शनी तथा बिक्रीका लागि राखिने जनाइएको छ ।
सहभागी किसानलाई निःशुल्क स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सव सञ्चालनका लागि करिब दुई लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये बागमती प्रदेश सरकारबाट ७० हजार रुपैयाँ र हेटौंडा उपमहानगरपालिकाबाट एक लाख रुपैयाँ सहयोग प्राप्त हुने बताइएको छ ।
यस वर्ष ड्रागन फलको उत्पादन अपेक्षाभन्दा धेरै भएकाले बजार व्यवस्थापनमा चुनौती देखिएको किसानहरुले बताएका छन् । हेटौंडामा दैनिक करिब ५०० किलोग्राम ड्रागन खपत हुने गरेको छ भने अन्य जिल्लाबाट समेत बिक्रीका लागि ड्रागन आउने गरेको छ । महोत्सव अवधिमा करिब २ हजार ५ सय देखि ३ हजार किलोग्राम ड्रागन बिक्री हुने अनुमान गरिएको छ । समापन समारोहमा सबैभन्दा बढी उत्पादन गर्ने, सबैभन्दा बढी बिक्री गर्ने तथा उत्कृष्ट बाइ–प्रोडक्ट उत्पादन गर्ने किसानलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महोत्सव प्रत्येक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म तथा बेलुका ३ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*