सामुदायिक कुकुर बन्ध्याकरण तथा एन्टी रेबिज खोप अभियान जारी
९ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकामा सामुदायिक कुकुरको संख्या व्यवस्थापन तथा रेबिज नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको तीन दिने सामुदायिक कुकुर बन्ध्याकरण तथा एन्टी रेबिज खोप अभियान जारी रहेकोे छ ।
अभियानको दोस्रो दिनसम्म १ सय ४० भन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण, रेबिस विरुद्ध खोप तथा लुतोको खोप प्रदान गरिएको छ । हेटौंडा–११ स्थित प्रादेशिक कृषि थोक बजार परिसरमा असार ८ गतेदेखि सुरु भएको अभियान हेटौंडा उपमहानगरपालिका र हेटौंडा एनिमल एण्ड डग वेलफेयरको सहकार्यमा सञ्चालन भइरहेको छ । कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । अभियानअन्तर्गत पहिलो दिन ७५ र दोस्रो दिन ७० भन्दा बढी सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको आयोजकले जनाएको छ ।
चितवनबाट आएका पाँच जना पशु चिकित्सकसहितको प्राविधिक टोलीले शल्यक्रिया तथा खोप कार्यक्रम सञ्चालन गरिरहेको छ । अभियान असार १० गतेसम्म जारी रहने डग वेलफेयरका अध्यक्ष सजन पौडेलले बताउनुभयो । कार्यक्रम मार्फत कुल २ सय ३४ वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण तथा एन्टी रेबिज खोप प्रदान गर्ने लक्ष्य राखिएको छ । विभिन्न वडाका सार्वजनिक स्थल, सडक, बजार क्षेत्र तथा बस्ती आसपासबाट सामुदायिक कुकुरहरू संकलन गरी शिविरमा ल्याएर शल्यक्रिया र खोपको व्यवस्था गरिएको छ ।
सामुदायिक कुकुरको अनियन्त्रित प्रजननका कारण मानव स्वास्थ्य तथा सुरक्षामा चुनौती बढ्दै गएको छ । त्यसैले दीर्घकालीन र मानवीय समाधानका रूपमा बन्ध्याकरण कार्यक्रम सञ्चालन गरिएको हो । शल्यक्रियापछि कुकुरहरूको स्वास्थ्य अवस्थाको नियमित निगरानीसमेत गरिँदै आएको छ । अभियान सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनमा उपमहानगरपालिकाले सहयोग गरेको छ ।
यस संस्थाले घाइते सामुदायिक कुकुरको उपचार तथा पुर्नस्थापना कार्य गर्दै आइरहेको छ । उपचार गरिएको कुकुर लाई राख्न हेटौंडा–१ मा सेल्टरको व्यवस्था गरिएको छ । हेटौंडाका स्थानीय मधुवन श्रेष्ठले सामुदायिक कुकुर व्यवस्थापनका लागि उपमहानगरपालिकाले थालेको पहल समयानुकूल र प्रशंसनीय रहेको बताउनुभयो ।














