जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीलाई हिरक जयन्ती वर्षको रूपमा मनाइने
१२ असार, हेटौँडा । मदन भण्डारी फाउन्डेशन, जिल्ला साखा मकवानपुरले जननेता मदनकुमार भण्डारीको ७५ औं जन्मजयन्तीलाई हिरक जयन्ती वर्षका रुपमा मनाउने भएको छ ।
आगामी असार १४ गतेदेखि २०८४ साल असार १४ गतेसम्म वर्षभर विविध कार्यक्रम गरि हरिक जयन्ती वर्ष मनाउन लागिएको हो । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै फाउन्डेशनले जननेता भण्डारीको व्यक्तित्व, कृतित्व र उहाँले प्रतिपादन गर्नुभएको जनताको बहुदलिय जनबाद (जबज)को विचारलाई जनस्तरसम्म पुराउने उद्देश्यले वर्षभरी नै विभिन्न वैचारिक, रचनात्मक तथा समाजोपयोगी कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
हिरक जयन्ती वर्षमा जननेताका बहुआयामिक व्यक्तित्व र नवीन दृष्टिकोणलाई जनसमक्ष पुराउने फाउन्डेसनको केन्द्रिय लक्ष्य रहेको बताइएको छ । हिरक जयन्ती वर्षका अवसरमा रक्तदान कार्यक्रम, वृक्षारोपण, राजनीतिक र वैचारिक वहस, विविध सम्मान, स्वास्थ्य शिविर, साहित्यिक प्रतियोगिताहरु, अन्तरक्रिया लगायतका कार्यक्रम तय गरिएको फाउन्डेशनका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो । कार्यक्रम तालिका अनुसार असार १३ गते रक्तदान, असार १४ गते जन्मजयन्ती, वृक्षारोपण तथा प्रवचन तय गरिएको छ । यस्तै, श्रावण महिनामा राजनीतिक वैचारिक वहस, भाद्र महिनामा महिला अधिकारका सन्दर्भमा कार्यक्रम, असोजमा फाउन्डेशन स्थापना दिवसका सन्दर्भमा श्रीचन्द्र शर्मा स्मिृति सम्मान समर्पण सहित वृहत् परिचर्चा कार्यक्रम, कात्र्तिकमा कविता प्रतियोगिता आयोजना गरिनेछ ।
त्यसैगरि मंसिर महिनामा हाजीरीजवाफ, पौष महिनामा मदन भण्डारी स्वास्थ्य वित्रान प्रतिष्ठानसँगको सहकार्यमा स्वास्थ्य शिविर, माघ महिनामा वक्तृत्वकाल प्रतियोगिता, फागुन महिनामा ज्येष्ठ नागरिकबिच अन्रक्रिया कार्यक्रम तय भएको अध्यक्ष खुलालले बताउनुभयो । चैत्रमा नवयुवासँग अन्तरक्रिया, आगामी वर्षको वैशाखमा विचार गोष्ठि, जेठ महिनामा स्मृति दिवस विविध कार्यक्रम आयोजना गरिनेछ भने २०८४ साल असारमा ७६ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाउनुका साथै हिरक जयन्ती वर्ष समापन गरिनेछ । पत्रकार सम्मेलनमा बोल्दै ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिका केन्द्रिय संयोजक डारमणी पौडेलले जननेता भण्डारीले प्रतिपादलन गर्नुभएको जबज एउटा राजनीतिक सिद्धान्त मात्रै नभई नेपालको लोकतान्त्रिक अभ्यासलाई मार्गदर्शन गर्ने विचारका रुपमा आजपनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
२००९ असार १४ गते ताप्लेजुङमा जन्मिनुभएका जबजका प्रणेता भण्डारीको जेठ ३ गते २०५० मा दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो ।














