हेटौंडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव सुरु
११ असार, हेटौँडा । हेटौंडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव सुरु भएको छ ।
प्रादेशिक कृषि थोक बजार सञ्चालन समिति, ड्रागन फ्रुट महोत्सव उपसमितिको आयोजनामा प्रादेशिक कृषि थोक बजार परिसरमा बिहिबार देखि महोत्सव सुरु भएको हो । महोत्सव असार १३ गतेसम्म सञ्चालन हुनेछ । “उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय उत्पादन” भन्ने मूल नारासहित आयोजित महोत्सवलाई बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन् ।
ड्रागन फ्रुट उत्पादक किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्दै उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक समितिका संयोजक सूरज थिङले बताउनुभयो । पछिल्ला वर्षहरूमा मकवानपुरमा ड्रागन फल उत्पादन उल्लेखनीय रूपमा वृद्धि भए पनि बजार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले महोत्सवमार्फत त्यसको समाधान खोज्ने प्रयास गरिएको हो । महोत्सवमा रातो, सेतो र पहेँलो प्रजातिका ड्रागनको प्रदर्शनी तथा सहुलियत मूल्यमा बिक्रीका साथै ड्रागन फलबाट उत्पादन गरिएका जुस, जाम, सलाद तथा फूलबाट तयार गरिने ग्रीन टी लगायतका प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।
महोत्सव अवधिमा करिब २ हजार ५ सय देखि ३ हजार किलोग्राम ड्रागन बिक्री हुने अनुमान गरिएको छ । समापन समारोहमा सबैभन्दा बढी उत्पादन गर्ने, सबैभन्दा बढी बिक्री गर्ने तथा उत्कृष्ट बाइ–प्रोडक्ट उत्पादन गर्ने किसानलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । मकवानपुरको मनहरी, बकैया र बागमती गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा ड्रागन फल खेती हुने गरेको छ । हाल जिल्लामा करिब ४० देखि ५० जना किसानले व्यावसायिक रूपमा ड्रागन फल उत्पादन गरिरहेका छन् ।














