विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास सम्पन्न

संवाददाता
११ असार २०८३, बिहीबार १४:५४

११ असार, हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापन क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नं. ८ स्थित औद्योगिक क्षेत्रको हेटेक्स चौरमा आयोजित कार्यक्रममा भूकम्प तथा आगलागीबाट उत्पन्न हुन सक्ने विपद्का घटनालाई आधार बनाएर खोज, उद्धार, राहत तथा व्यवस्थापन सम्बन्धी अभ्यास गरिएको थियो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, हेटौंडा उपमहानगरपालिका, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पताल लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहभागिता रहेको थियो । कृत्रिम अभ्यासका क्रममा भूकम्पका कारण भवन भत्किँदा मानिसहरू पुरिएको, घाइते भएको तथा घर र उद्योगमा आगलागी भएको अवस्था सिर्जना गरिएको थियो ।
सोही आधारमा उद्धार टोलीहरूले खोज तथा उद्धार, प्राथमिक उपचार, घाइतेलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा आगलागी नियन्त्रणका अभ्यासात्मक प्रदर्शन गरेका थिए । विपद्को समयमा सुरक्षा निकाय, स्वास्थ्य संस्था तथा स्वयंसेवी सङ्गठनबीच प्रभावकारी समन्वय कायम गर्दै छिटो, व्यवस्थित र प्रभावकारी रूपमा उद्धार तथा राहत कार्य सञ्चालन गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले विपद् व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी नभई तीनै तहका सरकार, सुरक्षा निकाय तथा सरोकारवाला निकायबीचको समन्वय, सहकार्य र साझा प्रयास आवश्यक पर्ने विषय भएको बताउनुभयो । उहाँले विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, स्रोत–साधनको व्यवस्थापन तथा संस्थागत समन्वयलाई थप प्रभावकारी बनाउन यस्ता अभ्यास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले विपद्का समयमा यथाशीघ्र र प्रभावकारी रूपमा उद्धार, राहत तथा पुनःस्थापनाको कार्य गर्न सक्नु नै सरकारको सफलता हुने बताउनुभयो । संकटको समयमा नागरिकले सरकारको उपस्थितिको अनुभूति गर्न सक्ने गरी सेवा प्रवाह गर्न सक्नु नै वास्तविक उपलब्धि भएको उल्लेख गर्दै उहाँले यस्ता अभ्यासले सरकारी संयन्त्रको तयारी र कार्यक्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*