सार्वजनिक शैक्षिक गुठीबाट सञ्चालित प्रज्वल शिक्षा सदनमा प्रविधिमैत्री शिक्षण
११ असार, हेटौँडा । हेटौंडा–६ मा रहेको प्रज्वल शिक्षा सदन इङ्ग्लिस स्कुल पछिल्लो समय प्रविधिमैत्री शिक्षण सिकाइ प्रणाली अपनाइरहेको छ ।
सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालित यस विद्यालयले विद्यार्थीलाई आधुनिक र प्रभावकारी शिक्षा प्रदान गर्ने उद्देश्यले कक्षाकोठामा स्मार्ट बोर्डमार्फत पठनपाठन गराउँदै आएको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयका सबै कक्षाकोठामा स्मार्ट बोर्ड जडान गरिएको छ । शिक्षकहरुले पाठ्यवस्तुलाई चित्र, भिडियो, एनिमेसन तथा अन्य डिजिटल सामग्रीको प्रयोग गरी विद्यार्थीलाई सहज र रोचक ढंगले बुझाउने गरेका छन् ।
यसले विद्यार्थीको सिकाइप्रति रुचि बढाउनुका साथै विषयवस्तु सहज तरिकाले बुझ्न सहयोग पुगेको विद्यालयले जनाएको छ । परम्परागत शिक्षण पद्धतिलाई प्रविधिसँग जोड्दै विद्यालयले बालबालिकालाई प्रारम्भिक तहदेखि नै डिजिटल वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गरेको छ ।














