मकवानपुरमा प्रभातफेरीसहित लागुऔषधविरुद्धको सप्ताहव्यापी सचेतना अभियान सम्पन्न
१२ असार, हेटौँडा । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२६ को अवसरमा मकवानपुरमा सञ्चालन गरिएको सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम प्रभातफेरीसहित सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबार बिहान “स्वस्थ समाजको पहिचान, लागुऔषधमुक्त राष्ट्र हाम्रो अभियान” भन्ने नारासहित प्रभातफेरी आयोजना गरिएको हो । कार्यक्रममा स्थानीय तह, सुरक्षा निकाय, शैक्षिक संस्था तथा सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी हेटौंडा बसपार्क, टीसीएन रोड हुँदै बुद्धचोक पुगेर समापन गरिएको थियो ।
¥यालीमार्फत लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने सन्देश प्रवाह गरिएको आयोजकले जनाएको छ । समापन कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारीले मकवानपुरमा लागुऔषधको उत्पादन तथा दुरुपयोग नियन्त्रण सबैको साझा जिम्मेवारी भएको बताउनुभयो ।
उहाँले विशेषगरी गाँजा र अफिम खेती हुन नदिन समुदाय, स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै लागुऔषधमुक्त समाज निर्माणमा सबै नागरिकको सक्रिय सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्लाभित्र क्रियाशील विभिन्न संघसंस्था, सरकारी कार्यालयका कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।














