बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक
३१ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक सर्वेक्षण पेस गरिएको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेशसभाको बैठकमा प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सर्वेक्षण अनुसार चालू आर्थिक वर्ष ०८२÷८३ मा प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ भने प्रदेशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) २४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ । मन्त्री तामाङले प्रदेशको आर्थिक, सामाजिक तथा भौतिक विकासका सूचकहरू उल्लेख गर्दै बागमतीले राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान पु¥याइरहेको बताउनुभयो । सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरिएकामा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।
नेपालको कुल अर्थतन्त्र ६६ खर्ब नौ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ भने त्यसको ३६.७ प्रतिशत अर्थात् २४ खर्ब २३ अर्ब १२ करोड रुपैयाँ हिस्सा बागमती प्रदेशको रहनेछ । चालू आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय दुई हजार ६४४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । प्रदेश सरकारको खर्चको अवस्था भने अपेक्षाअनुसार नदेखिएको आर्थिक सर्वेक्षणमा मन्त्री तामाङले उल्लेख गर्नुभयो । उहाँका अनुसार फागुन मसान्तसम्म प्रदेश सरकारको कुल खर्च १५ अर्ब पाँच करोड आठ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कुल आय, राजस्व बाँडफाँट र नगद मौज्दातसहित ३८ अर्ब ७८ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ ।
त्यसअघि प्रदेशसभाका ६ वटा विषयगत समितिले तयार पारेका प्रतिवेदनहरू प्रदेश सभा बैठकमा प्रस्तुत भएको हो । बैठकमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, अर्थ तथा विकास समितिका सभापति नुरज बज्राचार्य, शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले आ–आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको बैठक सोमबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने कार्यसूची रहेको छ ।














