गढी गाउँपालिकाको बजेट ७२ करोड ७५ लाख

कृषि क्षेत्रलाई उत्पादनमुखी र बजारमुखी बनाउने गाउँपालिकाको लक्ष्य
संवाददाता
१० असार २०८३, बुधबार १७:४५

१० असार, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ७२ करोड ७५ लाख २३ हजार रुपैयाँको बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको छ ।
गाउँपालिकाको चौधौं गाउँसभाको प्रथम बैठकमा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, सुशासन र वातावरण संरक्षणलाई विकासका मुख्य आधारस्तम्भका रूपमा अघि बढाइने उल्लेख गरिएको छ ।
प्रस्तावित बजेटमध्ये ४३ करोड ९० लाख अर्थात् ६० दशमलब ३५ प्रतिशत चालु खर्च तथा २८ करोड ८५ लाख रुपैयाँ अर्थात् ३९ दशमलब ६५ प्रतिशत पुजीगत खर्चतर्फ विनियोजन गरिएको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उत्पादनमुखी र बजारमुखी बनाउने, रैथाने बाली संरक्षण, जैविक खेती, स्मार्ट कृषि, सिँचाइ विस्तार तथा किसान परिचयपत्र कार्यक्रमलाई प्राथमिकता दिइएको छ । पशुपालनलाई आधुनिक प्रविधिसँग जोड्दै दुग्ध, मासु तथा पशुजन्य उत्पादनको मूल्य शृंखला विकास, पशु बीमा, खोप तथा साइलेज उद्योग सञ्चालन गरिने जनाइएको छ ।
पर्यटन प्रवद्र्धन अन्तर्गत मकवानपुरगढी दरबार, ऋखेश्वर गुफा, ढुङ्गेगढी, मनकामना क्षेत्र, छत्रेलेक पाथिभरा मन्दिर, हेलिग्राफ तथा अन्य धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने भएको छ । शिक्षा क्षेत्रमा डिजिटल सिकाइ, करियर मार्गदर्शन, छात्रवृत्ति तथा ‘पढ्दै कमाउँदै’ कार्यक्रमलाई प्रभावकारी बनाइने जनाइएको छ भने स्वास्थ्यतर्फ आधारभूत अस्पताल सुदृढीकरण, प्रयोगशाला सेवा विस्तार, मातृ तथा शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले ‘समृद्ध मकवानपुरगढी, सुखी नागरिक’ को दीर्घकालीन लक्ष्यसहित स्थानीय स्रोत, सीप र सम्भावनाको उपयोग गर्दै आत्मनिर्भर, प्रविधिमैत्री, हरित र समावेशी गाउँपालिका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*