होटल व्यवसायी महासंघमा मकवानपुरका ४ जना केन्द्रिय कार्यसमितिमा चयन
३० चैत्र, हेटौँडा । होटल व्यवसायी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशन गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको छ ।
चैत २७ र २८ गते दुई दिनसम्म चलेको महाधिवेशनले काठमाडौंका तुलसीराम भण्डारीको अध्यक्षतामा ३५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिमा होटल व्यवसायी संघ मकवानपुरले बलियो उपस्थिति जनाएको छ । मकवानपुरका ४ जना होटल व्यवसायी केन्द्रीय कायसमितिमा चयन भएका हुन् ।
महाधिवेशनबाट होटल व्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठ, महासचिव हरिगोपाल सापकोटा र रामशरण नेपाल केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ । होटल व्यवसायी संघ मकवानपुरका कोषाध्यक्ष रवीन लामा केन्द्रीय लेखा समिति सदस्यमा चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य हरिगोपाल सापकोटाले हाल ३५ सदस्यीय कार्यसमिति चयन गरिएको र बाँकी सदस्यहरू आवश्यकताअनुसार आगामी दिनमा छलफल र सहमतिबाट मनोनित गरिने जानकारी दिनुभयो ।














